डिसी नेपाल
वासिंगटन डिसी । अमेरिकामा बसोवास गर्दै आएका नेपाली समुदायलाई केही सातादेखि नै शुरु हुन लागेको अमेरिकाको राष्ट्रिय जनगणनामा सहभागी हुन मेरिल्याण्डस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(वाना) ले आग्रह गरेको छ ।

मेरिल्याण्डको केटन्सभिलस्थित सेक्युरिटी बुलेवर्ड, एलिकट सिटीस्थित ज्ञानेन्द्र श्रेष्ठको घर कम्पाउण्डमा फेव्रुअरी १६ मा आयोजित प्रशिक्षण कार्यक्रममा वानाका प्रशिक्षक डा.कृष्ण ढकालले बैधानिक वा अबैधानिक जुनसुकै हैसियतमा अमेरिकामा बसेको भए पनि जनगणनामा नछुट्न आग्रह गरे । ‘जनगणना के,को कसरी र किन ?’ भन्नेबारे प्रस्तुतिकरण दिंदै डा. ढकालले भर्खर जन्मिएका बच्चादेखि हजुर बुवा, हजुरआमासम्म, कागजपत्र हुनेदेखि नहुनेसम्म सबैले नाम लेखाउनु पर्ने बताए । तर, उनले नाम दोहोर्याएर फारम नभर्न भने सबैलाई सचेत गराएका थिए ।


अमेरिकी सरकारको नीतिअनुसार हरेकबर्ष बुझाइने करको जम्मा रकममध्ये ४ खर्ब ७५ अर्ब अमेरिकी डलर रकम अमेरिकामा रहेका विभिन्न समुदायलाई समुदायको हितको कामकै लागि जनसंख्याअनुरुप समानुपातिकरुपले वितरण गर्ने भएकाले समुदायको हितका लागि पनि जनगणनामा सामेल हुनुपर्ने जानकारी कार्यक्रममा दिइएको थियो ।
अमेरिकी जनगणना व्युरोले जनगणनामा सामेल भएका व्यक्तिहरुको व्यक्तिगत विवरण अदालतलगायत कुनै पनि अन्य निकायले लैजान नसक्ने र त्यो अमेरिकी कानुनअनुसार अतिगोप्य हुने हुंदा अबैधानिक हुंदा हुंदै पनि नाम लेखाएको भन्ने कुरामा पीर गर्नुपर्ने अवस्था नरहेको जानकारी प्रशिक्षक ढकालले दिएका थिए । उनले नेपाली पहिचान र अस्तित्वका लागि पनि जनगणनामा सामेल हुन अनुरोध गरेका थिए । स्थानीय काउण्टीका जनगणना अधिकृत जोयले पनि डा.ढकालकै प्रस्तुतिकरणलाई समर्थन गर्दै कोही पनि जनगणनाबाट नछुट्न आग्रह गरेका थिए ।

वानाका अध्यक्ष सुवोधविलास पन्तको सभापतित्वमा र महासचिव किरण ढकालको संचालनमा भएको सो कार्यक्रममा मेरिल्याण्डका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, पूर्व पर्यटनदूत ज्ञानप्रसाद रिमाल, टेक सोसाइटीका अध्यक्ष नारायण कंडेल, सल्लाहकार महेश भट्टराई, वानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, पर्वत समाजका अध्यक्ष धन गुरुङ्गलगायत केटन्सभिल क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको सभागिता थियो ।